काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले कुशासन अन्त्य गर्नका लागि नयाँ राजनीतिक कोर्स बनेको बताएका छन् ।
सत्ता गठबन्धनका चार दलका नेताहरू बीच भएको ८ बुँदे सहमति सार्वजनिक गर्दै सोमबार बेलुकी बालुवाटारमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त संवादमा उनले यस्तो बताएका हुन् ।
मजबुत गठबन्धनमा आफ्नो कुर्सी नहल्लिएको अवस्थामा प्रधानमन्त्रीले सहकार्य र सुशासनका लागि नयाँ ढंगबाट अघि बढ्ने सहकार्यको प्रस्ताव गरे पछि रास्वपा गठबन्धनमा सहभागी भएको उनले प्रष्ट्याए ।
राम्रो काम गर्ने र जनतालाई डेलिभरी दिने उद्देश्यका साथ गठबन्धनमा सहभागी भएको भन्दै उपसभापति वाग्लेले जनताको हितका काम हुन नसकेको अवस्थामा गठबन्धनमा नरहने पनि सञ्चारकर्मीसामु प्रष्ट्याए ।
‘आर्थिक शिथिलता र कुशासनका कारण समाजमा नैराश्यता छ ।यो कुरा प्रधानमन्त्री जीले गम्भिर मनन गरेको देखियो । उहाँको कुर्सी नहल्लिएको अवस्थामै उहाँले नयाँ ढंगबाट अघि बढ्ने साहस देखाउनु भयो,’ डा। वाग्लेले भने, ‘प्रधानमन्त्रीको पहलले हामी पनि उदयमान नयाँ दलका हिसाबले सरकारमा सहभागी हुने निर्णयमा पुग्यौं । जनताका लागि काम गर्ने हाम्रो स्पष्ट योजना छ । काम गर्न र डेलिभरी गर्न सकेको दिनसम्म हामी सरकारमा बस्छौँ । नसके बाहिरिन्छौँ ।’