काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन् ।
चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताएका हुन् । “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । प्रधानमन्त्रीले भने, शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।”
नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।”
आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।”
प्रधानमन्त्री प्रचण्डले आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको दाबी गरे ।
नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध भएको बताए ।