वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्ते प्रकरणमा प्रहरी प्रशासनले कारबाही प्रकृयामा ढिलाई गरेको भन्दै पर्साका ५ दलले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार बसेको सर्वदलिय बैठकले आन्दोलनको घोषणा गरेको हो ।
रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई जन्मदर्तादेखी सिफारिस सम्मका कागजात किर्ते गरेर नागरिकता दिलाईदिएका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले कारबाही प्रकृया अगाडि नबढाएको भन्दै प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने सर्वदलिय बैठकले निर्णय गरेको हो ।
वीरगंज महानगरका मेयरले रुबिना श्रेष्ठलाई किर्ते गरी नागरिकता बनाइदिएको विषयमा पुस २४ गते सिधाकुराले सप्रमाण खुलासा गरेको थियो । सिधाकुरामा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालय सहित विभिन्न ७ ठाउँमा उजुरी परेको छ । उजुरीको अधारमा गृहमन्त्रालयले पुष्कर रानाको संयोजकत्वमा छानबिन समिति बनाएपनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । गृहमन्त्रालयको छानबिन समिति तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर प्रयोग गरी बनाएको जन्मदर्ता लगायतको किर्ते विषयमा अनुसन्धान नै नगरी फर्किएका थियो ।
गृहमन्त्रालयको छानविन समिति फर्किएको भोलिपल्ट दोश्रो श्रीमति दावी गर्दै रिता भट्टराईले जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । अदालतमा पेश गरेको विवाहदर्ता प्रमाण पत्र र छोरीको जन्मदर्ताको प्रमाणपत्र पनि किर्ते गरिएको पाइएको छ । उक्त प्रमाणपत्रमा हस्ताक्षर भएका तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवले सो हस्ताक्षर आफ्नो नभएको भिडियो बयान नै दिएका छन् । त्यस्तै छोरीको जन्मदर्ता बनेको ३ बल्ल विवाहदर्ताको प्रमाणपत्र बनेको देखिएको छ । यसबाट पनि उक्त कागजात सक्कली नभएको पुष्टि हुन्छ ।
मेयर सिंहले गृहमन्त्रालयको छानविन समिति र जिल्ला अदालतमा पेश गरेको जन्मदर्ता लगायतको किर्ते कागजातको आधार बनाएर जिल्ला प्रहरी कार्यालयमा फैजदारी अभियोगको मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले दर्ता गरेका थिएनन् । सरकारी वकिलको कार्यालयले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिदै उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन दिएको २१ दिनपछि फागुन २४ गते बल्ल मुद्दा दर्ता भएको छ ।
पर्सा प्रहरीले जन्मदर्ता किर्ते गरेको आरोपमा उजुरी दर्ता गरेपनि कारबाही प्रकृया अगाडी नबढाएको भन्दै ५ दलले पर्सा प्रहरी प्रशासनविरुद्ध आन्दोलनको गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेताहरुले विज्ञप्ती जारी गर्दै मेयर सिंहमाथि कारबाही प्रकृयामा ढिलाई भइरहेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।
किर्तेबाट जोगिन मेयर सिंहले पदको दुरुपयोग गर्दै एकपछि अर्को प्रमाणहरु मेटाउने प्रयत्न गरिहँदा प्रशासनले भने कुनै कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन् । उनीहरुले मेयर सिंहविरुद्ध कारबही नहुँदासम्म आफुहरुले शुरु गरेको आन्दोलन जारी राख्ने र यसबाट श्रृजित समस्याको सम्पुर्ण जिम्मेवार प्रहरी प्रशासन हुने विज्ञप्तीमा भनिएको छ ।