काठमाडौँ । आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै छन् । बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक चलिरहेको छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।
यस्तै बिहान १० बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूचि रहेको छ ।
यस्तै बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् ।
कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुँदै छन् । समितिमा आज गृह मन्त्रालयसँग सम्बन्धित केहि नेपाल ऐनलाई ऐनलाई संशोधन गर्न बनेका विधेयक माथि छलफल रहेको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयसँग सम्बन्धीत ऐनहरुको संशोधनका विषयमा समेत छलफल हुँदै छ ।
यस्तै ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।