राैतहट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनलाई स्वभाविक भएको बताएका छन् ।
मधेश प्रदेश लक्षित कार्यक्रमका क्रममा रौतहटको चन्द्रपुर पुगेका सभापति लामिछानेले संचारकर्मीसँग कुरा गर्दै व्यवसायी दुर्गा प्रसाईँले संयोजन गरेको आन्दोलनका कतिपय माग जायज भएको बताएका छन् ।
‘उक्त आन्दोलनमा सहभागी कयौँ मानिसहरुको मुद्दा सहि छन् । लघुवित्तबाट, सहकारीबाट, बैँकको चर्को ब्याजदरबाट उठिबास लागेको जो मानिसहरु गएका छन्, ति मानिसहरु जसले किन बोलाए थाहा छैन । तर तिनले भनेको कुराहरुमा ध्यान जान जरुरी छ ।’, उनले थपे, ‘समग्रमा आन्दोलन सहि छ वा छैन भन्नुभन्दा पनि मुलुकमा अहिले जे भइरहेको छ, जे निराशा छाइरहेको छ, त्यो निराशाको अभिव्यक्ति हो ।’
त्यस्तै गणतन्त्रमा जो कोही नागरिकलाई आफ्ना विचार अभिव्यक्त गर्न संविधानले छुट दिएको भन्दै दुर्गा प्रसाईँको आन्दोलन पनि स्वभाविक रहेको बताएका छन् । उनले भने, ‘लोकतन्त्रमा, गणतन्त्रमा त्यो मानिसको अधिकार हो । त्यसलाई संविधानले सुनिश्चित गरेको छ । विरोध गर्न पाउनु अधिकार हो, त्यसको हामी सम्मान गर्छौँ ।’
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको गुनासो सुन्ने भन्दै देशभर घरदैलो साथै जनसभा गरिरहेको छ ।