काठमाडौँ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् ।
कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सिलौटाको लोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माईली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर प्राम हुनसाथ प्रहरी चौकी खहरेपाँगु, ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको टोेलीले प्रारम्भिक अनुसन्धान गरी मृतकको कान्छो छोरा वर्ष २८ को फुर्साङ लामालाई पक्राउ गरिएको थियो ।
खड्का अनुसार घटनाको अनुसन्धान गर्दा फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरीले टाउकोमा प्रहार गर्नुको साथै ढोकाको आग्लोले समेत गरी हत्या गरेको पाइएको थियो । फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए । फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्र्तिक १८ गते पक्राउ गरेको थियो । पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।