काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ ।
बिहीबार बिहान नेपाल एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट इजरायलको तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलकालागि उडेको थियो । विमानमा परराष्ट्रमन्त्री एनपी साउद सहितको टोली थियो ।
साँझ ५ बजे तेलअभिभ विमानस्थलमा जम्मा भएका २५४ जना विद्यार्थीले लिएर विमान नेपालका लागि उडेको विमान शुक्रबार बिहान ३ बजे काठमाडौँ अवतरण गरेको थियो । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा विद्यार्थीहरू खुशी देखिन्थे ।
उनीहरुलाई स्वागत गर्न विमानस्थल पुगेका आफन्त भावुक देखिन्थे । उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् ।
सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ । इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।
उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्रमन्त्रि एनपी साउदले दाबी गरे । साउदले भने “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ ।
हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरूलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ । साथै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।