काठमाडाैँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले यो देश नेताहरुले नभएर बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलका क्रममा पुनले यस्तो बताएका हुन् । उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न विषय उल्लेख गर्दै यो देश कसले चलाएको छ भन्दै प्रश्न गरेका हुन् ।
‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोशिस गर्नुभयो, मैले पनि सकेन । अब नयाँ अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । म नढाँटीकन आम जनाता अगाडि राख्न चाहन्छु कि यो देश राजनीतिक नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ? जवाफ छिट्टै प्रधानमन्त्रीले दिनुहुनेछ ।’ पुनले प्रश्न गरे ।
त्यस्तै उनले नेताहरुले त्याग र बलिदान गरेको उल्लेख गर्दै देश बिचौलियाको हातमा नदिन आग्रह गरेका छन् । उनले भने, ‘नेताहरुले त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल बस्नुभएको छ, युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाईदिनुस्, पार्टीहरुले देश चलाईदिनुस् । बिचौलियाहरुले होइन ।’