काठमाडौँ । दुबइको जेलमा उद्धारको पर्खाइमा रहेका धादिङको नेत्रावती गाउँपालिका ४ का पहलमान थापा मगर र ओखलढुंगाका भुवन श्रेष्ठको उद्धारको माग संसदमा समेत उठेको छ । धादिङ क्षेत्र नम्बर २ का सांसद रामनाथ अधिकारी र ओखलढुंगाका सांसद रामहरी खतिवडाले उनीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेका हुन् ।
धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठसँगै बस्दै आएका बाबुराम आलेमगरको मृत्युपछि पक्राउ परेका थिए । दूतावासका अधिकारीहरुका अनुसार स्थानीय प्रहरी अनुसन्धान र उनीहरुको बयानपछि युएईको तल्लो अदाललते हत्या अभियोगमा दोषी ठहर गर्दै आजीबन कारबासको फैसला सुनाएको छ ।
भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०÷५० लाख नगद दिएर कारागारमा रहेका श्रेष्ठ र मगरलाई रिहा गर्ने सहमती भएको थियो । पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो । यसैका लागि रकम जुटाउन दुवै परिवारलाई हम्मे हम्मे परेको छ ।
पहलमान थापा मगर र भुवन श्रेष्ठलाई जेलबाट छुटाएर नेपाल ल्याउन परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेका छन् । निकै कमजोर आर्थिक अवस्था भएका दुवैजनाको परिवारले विभिन्न संघ संस्था र व्यक्तिसंग हारगुहार गरेर भुवन श्रेष्ठको लागि आवश्यक रकम जुटाएका छन् । तर यता धादिङका पहलमानको लागि भने रकम जुट्न सकेको छैन । आफ्नो जाय ज्याथा र सबै सम्पत्ति बिक्री गर्दा समेत नपुग्ने रकम जोहो गर्नुपर्ने भन्दै उनीहरुले सहयोगका लागि सबैसंग अपिल गरेका छन् ।