काठमाडाैँ । ६० किलो सुन तस्करी प्रकरणमा ६० जना प्रतिवादीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध दोस्रो मुद्दा दायर गरेको हो ।
सीआईबीले गरेको अनुसन्धानलाई आधार बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएकाहरु मध्ये ५० प्रतिवादीलाई विभिन्न आठ अपराधमा सजाय गर्न माग गरिएको छ। जसमा उनीहरूविरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी), हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय गर्नुपर्ने माग गरिएको छ ।
ब्रेक सु र अन्य सामाग्रीमा लुकाईछिपाई ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैँया बराबरको अवैध सुन पैठारी भएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
प्रतिवादी बनाइएकाहरुमा दुई माेबाइल वालेट कम्पनी समेत रहेका छन् । जसमा पेवेल नेपाल र सजिलो पे रहेका छन् । ती कम्पनीबाट सुन तस्करीमा ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ बराबरका भुक्तानी भएको उल्लेख गरिएको छ । उक्त कम्पनीबाट सोही रकम बराबरको बिगो र जरिवाना मागदाबी गरिएको छ ।
यसअघि प्रहरीले २०८० भदौ सो प्रकरणमा पहिलोपटक २ दर्जन बढीविरुद्ध मुद्दा दायर गरेको थियो ।