काठमाडाैँ । खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । तराईका विमानस्थलमा भिजिबिलिटी कम हुँदा बिहीबार बिहान ११ बजेसम्म आन्तरिक तर्फका अधिकांश उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार जनकपुर, भैरहवा, धनगढी, नेपालगञ्ज, भरतपुर, विराटनगर विमानस्थल लागि बिहान तय भएका १४ वटा उडान प्रभावित भएका छन् ।
पहाडी जिल्लाहरूमा समेत खराब मौसमका कारण उडान हुन सकेको छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भरतपुर, सिमरा, विराटनगर, जनकपुर र पोखरा विमानस्थलमा खराबमा मौसमका कारण खुल्न सकेका छैनन् । अहिले मौसममा केहि सुधार देखिएकाले नेपालगञ्जकालागि २ वटा उडान भएका छन् ।
आन्तरिकतर्फ सबै भन्दा धेरै उडान गर्ने बुद्ध एयरका सूचना अधिकार दिपेन्द्र कर्णका अनुसार बुधबार जनकपुरका लागि एउटा मात्रै उडान भएको थियो । तराईमा बढ्दो हुस्सु र शितलहरका कारण बिहान उडान प्रभावित भैरहेको छन् । हरेक वर्ष यस्तो हुन्छ, काठमाडौँमा बिहानै विमानस्थल खुल्ने भएपनि तराईका जिल्लाहरूको मौसमका कारण दिउसो भरकै उडानलाई प्राभावित हुने गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले विराटनगर र सिमरा विमानस्थलको भिजिबिलिटी ५ सय मिटर भन्दा कम छ । सामान्यतया आन्तरिक विमानस्थलहरूमा ५ सय मिटर भन्दा कम भिजिबिलिटीमा उडान तथा अवतरण हुँदैनन् । मौसमविद् पुडासैनीका अनुसार आगामी तीनदिन सम्म बिहानी मौसममा सुधार देखिएको छैन । जसका कारण तराईका जिल्लाहरूमा हुने उडान थप प्रभावित हुन सक्ने छन् ।