३१ भदौ, काठमाडौं - ६० किलो सुन प्रकरणमा बिध ल्याबका सञ्चालक भिमकान्त भण्डारी कसुरमा सहभागी भएको विवरणसहितको अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गराएको अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसूर तथा संगठित अपराध समेत मुद्दामा भिमकान्त भण्डारीको कसुर खुल्न आएको तर कागजसम्म गरी कसुरदारको हैसियतले अनुसन्धान नभएको उल्लेख गरिएको छ ।
निजको हकमा थप अनुसन्धान भई अभियोग पत्र पेश गरिने पत्रमा उल्लेख गरिएको छ ।
भिमकान्तसँगै भिमबहादुर मगर समेत कसूरमा सहभागी भएको उल्लेख गरिएको छ । उनीसँग पनि कागज गरि कसुरदारका हैसियतले अनुसन्धान नभएकाले थप अनुसन्धान गरि अभियोग पत्र पेश गरिने उल्लेख गरिएको छ ।
त्यस्तै १४ चिनियाँ र ५ जना भारतीयको समेत सुन तस्करी प्रकरणमा संलग्नता रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
उनीहरुको तीन पुस्ते विवरण नखुलेको तथा पक्राउ नपरेकाले थप अनुसन्धान भई पक्राउ परेमा अभियोग पेश गरिने अभियोग पत्रमा उल्लेख गरिएको छ ।