काठमाडौँ । काँधमा चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा, गलामा केही थान खादा, एउटा कालो पछाडि भिर्ने झोला भिरेर सुटकेस गुडाएर देश छाड्दैछन् धनकुटाका आयुष खड्का । उनलाई बिदाई गर्न स्कुलका साथी प्रदीप विमानस्थल आए । परिवारबाट बिदाई भएर आएका साथीलाई उनले खादा लगाए र सोधे ‘ हिँडेको तँ नि ?’ आयुषले भने ‘अँ हिँडेको ।’
‘हाम्रा साथीहरू सबै विदेश गए । त र म मात्रै बाँकी थियौँ त पनि हिँडिस् अब म एक्लै भएँ,’ प्रदीपले आयुषलाई भने । आयुष प्रवेशद्वारतर्फ अघि बढ्दै गर्दा प्रदीप पछिपछि जाँदै थप बोल्छन् ‘गाउँमा ४० भन्दा धेरै युवा विदेश हिँडे, अब मेला पात पर्व र अप्ठ्यारोमा पनि गाउँमा युवा छैनन् बिजोग छ । त नरोई जा है’ सुटकेस राखेको ट्रलीलाई त्यही छोडेर आयुष फरक्क फर्किएर दौडिदै आउँछन् र भक्कानिएर प्रदीपलाई अङ्गालो हाल्छन् । त्यसपछि उनी विमानस्थलको चेकजाँच कक्षतर्फ लाग्छन् ।
अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको यो छोटो भिडियोको घटना असार ३१ गते बिहान १० बजेको हो । धनकुटा महालक्ष्मी नगरपालिका ९ का आयुष जापानको राजधानी टोकियोका लागि उड्दै गर्दा दुई साथी बीच बिछोड अघिको संवादले एक पटक सबैका सामु देशको चित्र देखिएको छ ।
साथीलाई विमानस्थलमा भावुक बिदाई गरेका प्रदीपका अनुसार आयुष कहिल्यै विदेश नजाने भनेर योजना सुनाउँथे । ‘गाउँ र इटहरीमा ठिकै गरी बसिरहेको उ बरु काठमाडौँ आएर मसँगै थिएटर पढ्ने र हिरो बन्ने योजना सुनाउँथ्यो,’ सिधाकुरासँग प्रदीपले भने, ‘तर, उ पनि एक्कासि देश छोड्ने निधोमा पुगेछ, गाउँ अब सुनो भयो म पनि एक्लो भएँ ।’
आयुष र प्रदीपको घर धनकुटाको गुराँस डाँडा गाउँ हो । मूर्ति महेश्वर माध्यमिक विद्यालय कल्चौर पढेका प्रदीप आयुष भन्दा उमेरले केही वर्ष जेठा छन् । तर, गाउँमा भएका थोरै युवाहरू मध्येका उनीहरु नजिकका साथी हुन् ।
प्रदीपका अनुसार आयुषको परिवारमा ३ भाइ छोरा र एक बहिनी छोरी छन् । जसमध्ये घरमा बसेको कान्छो छोरा आयुष पनि जापान उडे । उनका दुई जना दाजुहरु र दिदी पनि विदेशमै छन् । ‘अब उसको घरमा आमा र बुबा मात्रै हुनुहुन्छ । यो हाम्रो गाउँको दुःख हो । सबै परिवार युवाबिहिन छ गाउँमा तन्नेरीहरु नै छैनन् । ’
आयुषले एक्कासि बिदाई गर्न एयरपोर्ट बोलाएपछि आफू अचम्ममा परेको प्रदीप बताउँछन् । उ विदेश जान्छु भन्दा सुरुमा मैले पनि विश्वास गरिन तर भिडियो कलमा मलाई अघिल्लो दिन राती भिषा र टिकट देखायो । बिदाई गर्न बोलाए पछि खादा बोकेर बिमानस्थलको प्रस्थान हातामा पुगेको र आफू भावुक भएको उनले सिधाकुरालाई बताए ।
प्रदीपले अघिल्लो साता आफ्नो बुबा बिरामी भएको घटनाले पनि आयुषको बिदाई भावुक बनेको सम्झन्छन् । ‘गत साता मात्रै बुबा बिरामी भएको आमाले फोनमा भन्नु भयो । तत्काल अस्पताल लैजानु पर्ने भयो तर अस्पताल पु¥याइदेउ भन्न युवा कोही थिएनन्,’ प्रदीप भन्छन्, ‘गाउँका पाका काकाहरुले बुबालाई जसो तसो अस्पताल पुर्याउनु भयो ।’
अहिले प्रदीप पशुपतिनाथ क्षेत्रमा गाई पाल्ने संस्थामा काम गर्छन् । सडकमा फालिएका गाईगोरु संकलन र स्याहाँर गर्ने कामका अलवा उनी एक कला केन्द्रमा नाट्य कला पढ्दै पनि छन् ।धनकुटा महालक्ष्मी नगरपालिका ९ का वडा अध्यक्ष टेकबहादुर थापा प्रदीप र आयुषको विमानस्थलको कहानी सत्य घटनामा आधारित भएको बताउँछन् ।
पछिल्लो समय विदेश जानु अनिवार्य जस्तै भएको भन्दै उनले यस्तो संस्कारले समाजको थिती नै बिग्रिएको उनको भनाई छ । ‘कुनै बेला गाउँ युवाहरुले भरिएका हुन्थे । गाउँ हराभरा थियो,’ वडा अध्यक्ष थापा भन्छन् ‘तर अहिले गाउँ रित्तो छ, मेला पर्व, धार्मिक र सांस्कृतिक कार्यक्रम युवा बिहिन छन् । अस्पताल जान साथी र घाट जान मलामी पनि छैनन् ।’यो देशैभरको जटिल समस्या भएको भन्दै वडा अध्यक्ष थापा सबैलाई सचेत हुन र सोही अनुसारको युवा मैत्री नीति र व्यवस्थाको लागि केन्द्र सरकारलाई आग्रह गर्छन् ।
आयुष त एक प्रतिनिधि पात्र मात्रै हुन् । वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । सो तथ्याङ्कअनुसार दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढी युवाले रोजगारीको खोजीमा देश छोडिरहेको देखिएको छ ।