काठमाडाैँ । राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवारी दिएका नारायण दाहाल निर्वाचित भएका छन् ।
मंगलबार बानेश्वरस्थित संघिय संसद भवनमा भएको मतदानमा दाहालले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका युवराज शर्मालाई पराजीत गरेका हुन् । मतदानमा सहभागी भएका ५६ सांसदमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत खसेका थिए भने दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेका थिए । दाहाल र शर्मा दुवैले सोमबार मनोनयन दर्ता गरेका थिए ।
मतदान हुनुपूर्व राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्तुत गरेका थिए ।
सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरेका थिए । सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका थिए ।
दाहाललाई मतदान गर्न सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदलाई ह्विप जारी गरेका थिए ।