इजरायस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ४ सय नेपालीमध्ये एक सय हाराहारीले मात्र तत्काल नेपाल फर्कन चाहेका छन् ।
उनीहरुले तेलअभिवस्थित नेपाली दूतावासमा सम्पर्क गरेर नाम टिपाएका हुन् भने सम्पर्कमा आएका अन्यले भने आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि अपिल गरेका छन् । त्यस्तै अन्य कोही नेपाल फर्कन चाहे उनीहरुको समेत विवरण संकलन गरिरहेको इजरायस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
तत्काल नेपाल फर्कन चाहाने नेपालीहरुलाई इजरायलले सहमती दिनासाथ नेपालबाट विमान झिकाएर नेपाल पठाउने दूतावासको तयारी छ । त्यस्तै परराष्ट्र मन्त्रालयका पदाधिकारी समेत आफूहरुले इजरायको निर्णय कुरेर बसेको बताएका छन् ।
प्यालेस्टाइनको आतंकवादी समूह हमासले शनिबार बिहानदेखि एक्कासी इजरायमाथि आक्रमण गरेपछि अहिले इजरायलले सबैतिर सिल गरेको छ ।
हमास समूहले गरेको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका ४९ मध्ये १० नेपालीको मृत्यु भएको थियो । अन्य विद्यार्थीलाई भने सोमबार इजरायली सेनाले सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ ।
त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले नेपालबाट इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।