
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखापरेको बताएका हुन् । त्यस्तै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका हुन् । उनले कुनै पनि विकासमा धर्म प्रवेश गराउन नहुने बताउँदै भने,‘विकास विरोधी कोही पनि छैन तर धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौँ त्यसले भयंकर विवाद ल्याउँछ ।’, उनले भने
त्यस्तै उनले पाथिभरामा केबलकार बनाउने अनुमति कानुनअनुसार नै दिएको बताए । उनले भने, ‘ताप्लेजुङमा केबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबलकारको काम अगाडि बढाएको हो ।’
त्यस्तै उनले केबलकार निर्माणको विरोधमा शनिबार राती भएको घटनाप्रति आपत्ति जनाए । विरोधका क्रममा मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने र सुरक्षाकर्मीमाथि साङ्घातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुन नपाएको बताए । केबलकार निर्माणको विरोधको घटनाले नागरिकहरु आतंकित बनेकाले तत्काल गम्भीर हुनुपर्ने उनले बताए ।
उनले नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता विवाद हुनु दुखद कुरा भएको बताए । केबलकार निर्माणका विषयमा निरन्तर बिरोध र झडपका घटना भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।