सोमबार गौशालामा दुर्गा प्रसाईँको आन्दोलनमा गएर प्रहरी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छलफल भइरहेको नेपाल प्रहरीले बताएको छ ।
सोमबार गौशालामा भएको आन्दोलन पुगेर प्रहरीमाथि ढुंगा प्रहार गर्ने प्रसाईँ समूहका १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेल बताए ।
पक्राउ पर्नेमा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा समेत रहेका छन् । त्यस्तै प्रहरीले भोजराज तिमल्सिना, यदुनाथ सिग्देल, सुजन खड्का, राजु तामाङ, ऊबहादुर रिजाल नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, युविन श्रेष्ठ, मेहरमान बस्नेत र दिपेश खड्कालाई पनि पक्राउ गरिएको छ ।
त्यस्तै आन्दोलनमा पुगेर अराजक अभिव्यक्ति दिने केहीलाई पक्राउ गरिएपनि उनीहरुलाई भने छोडिएको प्रहरीले जनाएको छ ।
गत मंसिर ७ गतेदेखि राजतन्त्र फिर्ता गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाएर नागरिक बचाउ आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईँले दिनहुँ काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । ७ गते बल्खुबाट आन्दोलन सुरु गरेका उनले सोमबार गौशालामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनका समर्थकले पूरै सडक ढाकेर बिचमै सुतेपछि उनीहरुलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । हटाउने क्रममा मुठभेड हुँदा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । प्रहरीले भिडलाई तितरबितर गरेर स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्रममा आन्दोलनमा सहभागि भएका ३ दर्जन बढि घाइते भएका प्रहरीले जनाएको छ ।