काठमाडौँ । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतले सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो ।
सोमबार अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत गएको थियो ।
कास्की जिल्ला अदालतले गत पुस २५ गते गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका रविसहित ७ जनालाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङलाई ५/५ लाख, कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।