ललितपुर । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन ।
स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलवार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् । खोकनावासी दसैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।