सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गठबन्धनलाई अनुभवी लुटेराको संज्ञा दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका हुन् ।
‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ बज्छ।’
त्यस्तै उनले सहकारी प्रकरणमा हुँदै नभएको प्रमाण १२/१४ महिना खोज्दा पनि नभेटेको बताए । ‘भेटेका भए किन छोड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजोरी गरेको छैन’, उनले भने, ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असंभव। २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँ ।’
उनले पार्टीमा पहिला लागेको भनेर अबसर नपाइने स्पष्ट पारे। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अबसर अवसर पाउने उनको भनाई छ । ‘घण्टी बोकेर मात्र जितिदैन, जनताका एजेण्डा बोक्नु पर्छ। अब कुनै पनि निर्वाचनमा कुनै दलको उम्मेद्वारले हारेर फरक पर्दैन। अब कर्णालीले हार्नु हुँदैन। कर्णालीले जित्न रास्वपाले जित्नु पर्छ’, लामिछानेले भने ।