काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
आजका लागि स्थगित भएको निर्वाचन प्रक्रिया असोज १७ गते बिहान १० बजे पुन सञ्चालन गरिने अखिल क्रान्तिकारीले जानकारी दिएको छ । संगठनमा रहन पाउने उमेरहदबारे विवादबारे निष्कर्शमा नपुग्दा निर्वाचन प्रक्रिया रोकिएको हो । संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
उमेर हदको विवाद निमिल्दा सम्मेलनमै कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिने बताइएको छ ।
अहिले संगठनको नेतृत्वका लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की लगायत १ दर्जन बढी आकांक्षी रहेका छन् ।