काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजबाट इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागु भएको छ ।
इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) का लागि आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजबाट लागु भएको आचारसंहित निर्वाचन सम्पन्न भएपछि मात्रै सकिने छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगले जारी गर्ने नियमहरु हुन् । आचारसंहिता मतदात, उम्मेदवार, पार्टी, कर्मचारी देखि संचारमाध्यम र सरकारी कामकाजमा समेत लागू हुन्छ । साथै सरकारी स्रोत साधनको प्रयोगमा समेत आचारसंहिता लागू हुन्छ ।
आचारसंहित लागू भएपछि के के गर्न पाइदैन ?
१) सार्वजनिक स्रोत, साधन तथा राज्यको सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रयोग गर्न पाइने छैन ।
२) सरकारी भवन, सार्वजनिक संस्थाको संरचना, विद्यालय प्रयोग गरि चुनावी प्रचार प्रसार तथा भेला गर्न पाइने छैन ।
३) प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउँदैनन् । उम्मेदवार भएको हकमा सरकारी स्रोतधानका प्रयोग नगरी प्रचार गर्न भने पाउँछन् ।
४)संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् ।
५)सरकारी कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउँदैनन् ।
६) निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षविपक्ष लिन पाउँदैनन् ।
७) विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने शिक्षक प्रध्यापकहरु कुनै दल वा उम्मेदवारको पक्ष विपक्ष लिन पाउँदैनन् ।
राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार कसरी गर्ने ?
१) राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचारप्रसार सभ्य र अनुशासित भई गर्नुपर्छ । त्यसका लागि प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ ।
२) प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउँदैनन् ।
यस बाहेक मतदानको २४ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । त्यस अवधिका लागि आचारसंहित झनै कडा हुन्छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।