काठमाडाैंँ । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट आफूले कुनैपनि पैसा ननिकालेको प्रष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफ्नाबारे कान्तिपुर लगायत संचारमाध्यममा आएको समाचारलाई इंगित गर्दै ‘आलु काउली’ खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज ‘काउली आलु’ आएछ भनेको हुन् ।
उनले बुधबार संचारमाध्यममा अभियोगपत्रमा उल्लेख भएको आफ्नो नामलाई जोडेर आएका समाचारलाई खण्डिन गरेका छन् । सँधैभरि आफ्नो नाम जोडेर हैरानी दिने संचारमाध्यमले अभियोगपत्र आउँदासमेत भ्रामक र अतिरंजित बनाएर समाचार छापेको बताएका छन् । ‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?’, लामिछानेले प्रश्न गरेका छन् ।
त्यस्तै उनले अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण नहालेको पुष्टि गरिसकेको बताएका छन् । त्यस्तै आफ्नो नाममा लिइएको ऋणमा ल्याप्चे, हस्ताक्षर समेत नभएको र रकम जम्मा गर्ने सहकारीकी तत्कालीन कर्मचारीले समेत कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको बताइसकेको परिवेक्षमा आफ्नो नाम जोड्नु नियतवश भएको बताएका छन् । त्यस्तै उनले अभियोगपत्रमा कान्तिपुरकै एक कर्मचारीको समेत नाम जोडिएको तर कान्तिपुरले त्यसलाई नजरअन्दाज गरेकाे समेत बताएका छन् ।