काठमाडौँ । संयुत्त राज्य अमेरिकाको सिकागो सहरमा हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुन त्यसतर्फ जान लागेका नेपाली तेक्वान्दो प्रशिक्षक जगन अधिकारीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बिदाइ गरेका छन्।
आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच राजदूत क्षेत्री लगायत दुतावास परिवारबाट युएईबाट सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।
विश्व तेक्वान्दोको आयोजनामा यही डिसेम्बर १८ देखी २१ सम्म हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्षमा सहभागी हुन शुक्रबार उनी त्यसतर्फ जाने छन् ।
यसअघि गत जुलाईमा दक्षिण कोरियामा सम्पन्न भएको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा युएईमा रहेका तेक्वान्दो खेलाडीहरुले उनकै नेतृत्वमा सहभागिता जनाएका थिए।
त्यसैगरी दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत प्रशिक्षकको भुमिकामा काम गरेका अधिकारीले कराते र बक्सिङको कोचको लागी पनि नेपाली खेलाडीहरुलाई अवसर प्रदान गरेका थिए ।
अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२, युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।
विगत एक दशकदेखि युएईमा रहेका अधिकारी युएईमा राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्यरत छन् ।