काठमाडाैँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरासँगको बयान सकिएको छ । उनीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको हो ।
भेपमा भएको सुन तस्करी प्रकरणमा गत सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
त्यस्तै अदालतले महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्न आदेश दिएको थियो । पक्राउ परेपनि अस्पतालमा राखिएका उनलाई म्याद थप गर्ने वा हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो भइनसकेको सीआईबीले जनाएको छ ।
भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको यसअघिको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संलग्न सबैलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले सुन भरेर ल्याएका ७ सय ३० वटा विद्युतीय चुरोट भेप भन्सारले जफत गरेको थियो । सोही प्रकरणमा ली हानसङ कृष्णबहादुर महरासँग ११ पटकसम्म फोन सम्पर्क भएको देखिएको थियो ।
सोही प्रकरणमा पक्राउ परेका महराका छोरा राहुल महरा अहिले पुर्पक्षमा थुनामा छन् ।