काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको छ । उपसभापतिमा उनि दोस्रो वरियतामा छन् भने पार्टीमा तेस्रो वरियतामा हुने छन् । उपसभापतिको पहिलो वरियतामा डोलप्रसाद अर्याल छन् । त्यस्तै रास्वपाले सांसद सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई सहमहामन्त्री मनोनित गरेको छ ।
संसदीय दलको उपनेतामा भने विराजभत श्रेष्ठ चयन भएका छन् । रास्वपाले कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि मनोनित गरेको छ । कोषाध्यक्षमा लिमा अधिकारीलाई मनोनय गरेको छ भने सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा चयन भएका छन् ।
त्यस्तै अनिल केशरी शाह, राजन गौतम, डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । यस्तै रास्वपा १४ जना सांसदहरूलाई पनि केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने निर्णय गरेको छ । यस अघि कार्यसमितिमा नरहेका सबै सांसदलाई पार्टीले केन्द्रीय सदस्य बनाएको हो ।
यो निर्णयसँगै संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा.स्वर्णिम वाग्ले, डा. चन्दा कार्की(भण्डारी) असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत पनि केन्द्रीय सदस्य भएका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको बैठकले १२ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा अध्यक्ष रवि लामिछानेसहित, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्रीत्रय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी अधिकारी र सहकोषाध्यक्षद्वय बसुमाया तामाङ र दीपक बोहोरा छन् ।