मुगु : नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा थन्किएको छ ।
आइतवार बिहान ११ बजे नेपालगंजबाट ३ जना यात्रु बोकेर मुगुको रारा विमानस्थल ताल्चा पुगेको नेपाल एअरलाइन्सको 9N-ABU कल साइन भएको जहाज ब्याट्रीमा समस्या भएका कारण उडान भर्न नसकेको हो ।
मुगुबाट १३ जना यात्रु लिएर नेपालगंज उडान भर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या देखिँदा जहाज ताल्चाामै रोकिएको हो ।
जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमार्फत नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गर्दा जहाजको ब्याट्रीमा समस्या भएको पत्ता लागेको रारा विमानस्थल ताल्चाले बताएको छ ।
त्यस्तै जहाजको ब्याट्री नेपालगंजबाट ल्याउनुपर्ने भएपछि सोमबार मात्र जहाजको समस्या समाधान हुने र १३ यात्रु लिएर उक्त जहाज नेपालगंज जाने नेपाल एयरलाइन्सका रारा विमानस्थल प्रतिनिधि क्षेत्र भामले जानकारी दिए ।
एक्कासी जहाजमा समस्या देखिएपछि यात्रुहरु अलपत्र परेका छन् ।