काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । रास्वपाका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिमा छलफलपछि महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक हुने छ । झाले भने ‘बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिज्यूले नै बैठकमा राख्नुभएको थियो । तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गर्नुभयो । हामीले प्रतिवेदन हेर्न नपाएको हुँदा पहिले यसबारे छलफल गरौं भन्ने कुरा भएको छ ।’
साथै झाले महामन्त्रीले सभापतिलाई प्रतिवेदन बुझाएकै दिन सभापतिले सार्वजनिक गर्ने प्रतिबद्धता गरिसकेकाले आजको बैठकमा पनि सभापतिले नै महामन्त्रीको माग बमोजिम लाइभ गर्ने प्रस्ताव गरेपनि सबै केन्द्रिय सदस्यहरुले अस्वीकार गरेको जानकारी दिए ।