काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच भेटवार्ता भएको छ । उनीहरुबिच मंगलबार मन्त्रालयमै भेटवार्ता भएको हो ।
भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौँ । त्यसैले श्रमिकको सीप विकासमा तपाईँहरुको सहयोगको अपेक्षा गर्छौँ,’ मन्त्रीले भने।
त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद व्यक्त गरे । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने ।
नेपालका लागि कतारका राजदूत अन्सारीले श्रम बजारको हिसाबले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताएका छन् । उनले राजदूत अन्सारीले कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेका कारण नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न सँधै तयार रहेको बताए । ‘नेपाली श्रमिकको सिप विकासका लागि के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौँ,’ उनले भने।
भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको थियो ।
हाल कतारमा तीन लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८ सय ३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५ सय ५५ रहेको छ ।