काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानको प्रशंसा गरेको छ । जाँचबुझ आयोगले पेश गरेको प्रतिवदेनमा ‘राजश्व अनुसन्धान विभागलाई धन्यवाद दिइएको छ ।
आयोगका प्रमुख डिल्लीराम आचार्यका अनुसार ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले १८ दिनमै अनुसन्धानको अधिकांस काम पुरा गरेको देखिएको पाइएकाे थियाे । ‘विभागले १८ दिनमा लगभग ८० प्रतिशत अनुसन्धान पुरा गरेको देखिएको छ । त्यसपछि सीआईबीले अनुसन्धान गरेको थियो । तर, प्रहरीमा मुद्दा गएपछि सोही गतिमा काम भएको देखिएन ’आचार्यले भने ।
२ साउनमा विमानस्थल भन्सार कटेर गोदाम लैजादै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले ब्रेक शु सहितको १५५ किलो सुन बरामद गरेको थियो । विभागले १७ दिन अनुसन्धान गरिसकेको विषयलाई १८ साउनमा गैरकानूनी तरिकाले प्रहरीको जिम्मा लगाउने निर्णय तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । १९ साउनबाट प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।
सुन तस्करीको मुख्य व्यवस्थापक दावा छिरिङलाई विभागले नै पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागले जीपीएस ट्रयाकिङका ११ सय वटा लोकेसन सहित संदिग्ध आधा दर्जन व्यक्तिलाई तत्काल पक्राउ गर्नुपर्ने भनि सूची बुझाएको थियो । तर, सीआईबीले विभागले उल्लेख गरेका व्यक्तिहरुलाई पक्राउ गर्नु त परेको कुरा उल्टो चोख्याउने प्रयास गरेको आयोगको प्रतिवेलनले नै ठहर गरेको छ ।