महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन । १० बुँदे मागसहित जलेश्वर नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला लगाएका हुन् ।
जलेश्वर नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगरसभा गरिएको नौ महिना बितेपनि योजना संचालन नगरेको, नगरपालिकाले नगरको नियमित बोर्ड बैठक नबसाएको, डोर हाजिरीमा कार्यरत कर्मचारीलाई ९ महिना खटाई तलब भत्ता भुक्तानी नगरेको, आ.व.८०/८१ मा संचालन भएको योजनाहरुको भुक्तानी प्रतिलिपि माग गर्दा उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।
त्यस्तै किसानहरुका लागि पालिकाले कुनै योजना नराखेको, जलेश्वर नगरपालिकाले गरेको कार्यहरुको सार्वजनिक सुनुवाई नगरेको, नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण उपलब्ध नगराएको र जलेश्वर नगरपालिकाको १२ वटै वडामा कर सम्बन्धी कार्यका लागि प्रयोग गरिने संग्रीला सफ्ट्वेयर कम्पनीको भुक्तानी नगर्दा वडाका कार्य अलपत्र परेकोले उनीहरुको गुनासो छ । त्यस्तै यी मागहरु नगरपालिकामा राख्दा बेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गरिएको दुई दिन बितिसक्दा पनि नगरप्रमुख सुरेश साह सोनारले कुनै मतलब नराखेको जलेश्वर नगरपालिकाका वडा न.०३ का वडाध्यक्ष रतन चौधरीले गुनासो गरेका छन । आफूहरुको दश बुँदे मागका विषयमा छलफल गरे आफूहरु सम्झौतामा जान तयार रहेको वडाध्यक्ष चौधरीले बताए ।
त्यस्तै नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको वडाअध्यक्ष चौधरीले आरोप लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म ताला नखोल्ने जनप्रतिनिधिहरुले अडान लिएका छन् ।