काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । सहमति अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । एमालेबाट प्रधानमन्त्रीसहित १० जना सरकारमा सहभागी हुने भएका छन् ।
एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने लगभग निश्चित भएको एक नेताले बताए एमालेले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मालाई दिएको छ । बाँकी को को मन्त्री बन्दैछन् भन्ने खुलाइएको छैन ।
त्यस्तै नेपाली कांग्रेसले गृह मन्त्रालयसहित परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको छ । कांग्रेसका शेखर गगन पक्षले मन्त्री बन्नको लागि ४ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरी रहेका छन् ।