काठमाडौँ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेश प्रदेशमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् ।
सांसद तथा नेताहरु ७ समूह बनाएर बिहान ७ बजेबाट महोत्तरीको खैरा टोल, रामगोपालपुर, पर्सा टोल, पोखरभिण्डा, बगरा, एकडाँरा र खखनामा घरदैलो गरिएको सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
घरदैलोको घरमा सभापति लामिछानेको भागमा एकडाँरा गाउँ परेको थियो । जुन काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) को गाँउ पनि हो ।
एकडाँरामा पुगेका सभापति लामिछानेसँग स्थानीयहरुले मधेशका गाउँको स्वास्थ्य र विकासमा केन्द्रीय नेताहरुले चासो नदिएकोमा गुनासो गरे । त्यस्तै शिक्षा, खानेपानी तथा कृषिका लागि पूर्वाधार विकासमा बजेट छुट्टिएको सुन्ने गरेपनि गाउँमा कहिल्यै नपुगेको उनीहरुको गुनासो छ।
साथै एकडाँरा गाउँका स्थानीय राजनीतिमा नयाँ अनुहार आएकोमा भने आशावादी देखिए । आफ्नै गाउँको छोरा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि एकडाँराका स्थानीय पनि हर्षित छन् । निर्वाचन हुनुभन्दा केहि पहिला गाउँ पुगेपनि निर्वाचित भएपछि बालेन गाउँ गएका छैनन् ।
रास्वपाका सभापति लामिछाने सहित सबै नेताहरु अहिले मधेशमा छन् । सोमबारबाट केन्द्रिय समिति र संसदिय दलको बैठक सुरु भएपनि लामिछाने भने गत शुक्रबारबाटै मधेशका विभिन्न भेलाहरुमा सहभागी भैरहेका थिए ।
बुधबारसम्म चल्ने बैठकमा पार्टी र नेताहरुको समिक्षा, दस्तावेज माथि छलफल, महाधिवेशनको प्रक्रिया तथा नेताहरुको भुमिका हेरफेर समेत गर्ने जनाइएको छ ।