काठमाडाैँ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा भुक्तानी गरिएका बिरामीको विस्तृत विवरण जवाफ माग गरेको छ ।
सिधाकुरामा चौदण्डीगढी अस्पतालमा बिरामीकाे विवरण किर्ते गरि रकम भुक्तानी लिने गरेको समाचार चिकित्सककै बयान सहित प्रकाशन भएपछि बोर्डको ध्यानाकर्षण भएको हो । बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलका अनुसार अस्पताललाई तीनदिन भित्र विवरण सहित जवाफ बुझाउन निर्देशन गरिएको छ ।
साथै बोर्डले चौदण्डीगढी आधारभुत नगर अस्पतालमा स्वास्थ्य बीमा मार्फत सेवा लिएका सेवाग्राहीलाई समेत बिरामी पूर्जी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।
सूचना अधिकारी कडेलले भनिन्, बिरामीको वास्तविक पूर्जीमा भएको औषधीको विवरण र बीमा बोर्डमा भुक्तानीका लागि पेश भएको विवरण फरक भएको हुन सक्ने भएकाले थप बिरामीको समेत पूर्जी खोजिएको छ ।
चौदण्डीगढी आधारभुत नगर अस्पतालमा बिरामीलाई दिएको औषधी र सेवा भन्दा, अस्पतालले बिमा बोर्ड भुक्तानीका लागि धेरै दाबी गर्ने गरेको अस्पतालकै चिकित्सक डा नन्दन साहले खुलासा गरेका थिए ।