काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिने भाषणले जगतलाई मुर्ख बनाउने काममात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै उनले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको भन्दै उनले यस्तो बताएका हुन् ।
सरकार अदलिएपछि धेरै कुरा बदलियो । हिजो छानबिन चलिरहँदा धेरै मान्छेले सिमाना नाघ्यो भन्थे, देश छोड्यो भन्थे । पुरस्कारस्वरुप आज उनीहरु ठूला ठूला मन्त्री भएका छन् ।’ किराँतीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा र सम्मानीय प्रधानमन्त्री ज्यूको हिजोको भाषण, के यो प्रवृत्तिले छुनसक्छ ? यो प्रश्न उठेको छ । तर जे जे भएपनि यहाँहरुले जगतलाई मूर्ख बनाउनुभएको छ ।’
किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको समेत बताएका छन् । संख्याका हिसावले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।
किराँतीले मौद्रीक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने बिषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए । उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्रता पाउँछ वा पाउदैन भन्दै प्रश्न समेत गरे ।