काठमाडौँ । चामल भनेर झुक्याएर चिनीको तस्करी मौलाएको पाइएको छ । तस्करी विरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले गरेको अनुगमनमा पछिल्लो केहिदिनयता अवैध चिनी बरामद हुन थालेको हो ।
भैरहवा भन्सार कार्यालयका अनुसार एक सातामा सीमा क्षेत्रबाट अवैध भित्र्याउँदै गरिएको ४२० बोरा चिनी बरामद भएको छ । बिहीबार मात्रै गस्तीमा खटिएको टोलीले २१० बोरा अवैध चिनी नेपाल भारत सीमा क्षेत्रबाट बरामद गरेको छ ।
चामलले भरिएको भनिएको ट्रकमा तस्करी हुँदै गरेको १० मेट्रिक टन चिनी बरामद गरिएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । ‘आज बिहान करिब २ः ३० बजे बेथरी क्षेत्रबाट ठूलो परिमाणमा अवैध चिनी बरामद भएको छ,’ गौतमले सिधाकृुरासँग भने, ‘२१० बोरामा रहेको उक्त चिनी भारततर्फबाट नेपालमा चामल भनेर ल्याइँदै थियो ।’
चिनी बोकेका लु २ ख २८ ३६ नम्बरको ट्र र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । चिनी बोकेर सो ट्रक पोखरा जान लागेको चालकले प्रारम्भिक सोधपुछमा बताएको उनको भनाई छ ।
भन्सार प्रमख गौतमका अनुसार भाद्र ८ गते शनिबार सोही क्षेत्रबाट अर्को एक ट्रकमा २१० बोरा नै चिनी बरामद भएको थियो । ग २ ख १२५० नम्बरको सो ट्रकमा लोड गरिएको उक्त परिमाणको चिनी नियन्त्रणमा लिएर चलाकलाई अनुसन्धानको क्रममा प्रहरी हिरासतमा पठाइएको गौतमले बताए ।