काठमाडौँ । भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना गलत भएको पाइएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले विमानमा बम भएको हल्ला मात्रै भएको जानकारी दिए ।
दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टामै बम रहेको सूचना पछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएको प्रवक्ता भुलले बताए । उनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा कुनैपनि शंकास्पद वस्तु नभेटिएको बताए ।
जहाजलाई खतरामुक्त प्रमाणित भएपछि नयाँदिल्लीतर्फ उडान भर्ने तयारीमा छ ।
जहाज दिल्लीबाट उडेको १ घण्टा मै बम रहेको सूचना आएको थियो । बम रहेको सूचना पछि आकाशमा झण्डै एक घण्टा उक्त जहाज १५७ यात्रु लिएर उडिरहेको थियो । एक अज्ञात नम्बरबाट काठमाडौँमा भारतीय विमानको सुरक्षा जाँच गर्ने सुरक्षा अधिकारीको मोबाइलमा कलसाईन यूके १५५ को जहाजमा बमको सूचना पठाएका थिए ।
सो सूचना जहाज दिल्लीबाट उडेको १ घण्टामै आएको र उक्त सूचना पछि विमानस्थललाई उच्च सुरक्षा निगरानीमा राखेर जहाजको सकुशल ल्यान्ड गराइएको थियो ।
जहाज सकुशल ल्यान्ड भएपछि अहिले नेपाली सेनाद्वारा सुरक्षा जाँच भएको थियो । सबै यात्रुलाई विमानबाट बाहिर निकालेर जाँच गरिएको थियो भने यात्रुका झोला तथा सामानहरु सहितको विमानलाई अलग्गै राखेर सेनाको बम डिस्पोजल टोलीले जाँच गरेको थियो ।