काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।
बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरले बार जनताको आवाज र लोकतन्त्रको हिमायती भएको बताउँदै आफूले अदालतमा दिएको प्रतिवेदन फिर्ता लिने बताएका हुन् । ‘बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु ।’, घिमिरले लेखेका छन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले तयार गरेको प्रतिवेदनका आधारमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरले उनीविरुद्ध प्रतिवेदन उठाएर मुद्दा दर्ता गराएका थिए । बारअध्यक्ष घिमिरेविरुद्धको पेसी आगामी कार्तिक १ गते तोकिसकिएको छ । तर यता सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरले आफूले दर्ता गरेको सो प्रतिवेदन फिर्ता लिने घोषणा गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदाई भएसँगै उनले आफू प्यादा नबन्ने घोषणा गर्दै बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका हुन् । सोही प्रकृतिको मुद्दामा सिधाकुरा र यसका प्रकाशक तथा सम्पादकलाई भने जरिवाना तथा जेल सजाय तोकिएको छ । सिधाकुरा विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको प्रतिवेदन घिमिरेले नै पेश गरेका थिए । अहिले बार अध्यक्षको मुद्दा फिर्ता लिने घोषणा गर्दै उपरजिस्ट्रार घिमिरेले लेखेको स्टाटसले प्रसस्तै शंका गर्ने ठाउँ छोडेको छ ।