काठमाडौँ । आज सुदूरपश्चिमसहित ३ प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र देशका अन्य भूभागमा मौसम सफा रहने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्रगतको जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा भने मौसम प्रतिकुल देखिएको छ । यस क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
आइतबार बिहान देशका पहाडी भूभागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदलीको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहेको छ ।
यस्तै, दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहितका देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागको प्रक्षेपण छ ।