काठमाडौँ । न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रका व्यवसायीहरूबाट रकम उठाएर कलंकीको खसीबजारमा बनाइएको नेसनल बिजनेस ट्रेड सेन्टर(एनबीटिसी) अहिले दयनिय अवस्थामा पुगेको छ । मिलाल्याण्ड डेभलपर्स प्रा.लि. ले आफूले गरेको सम्झौता पुरा नगर्दा ९२९ जना व्यवसायीहरु ठगिएका छन् । मिलाल्याण्ड डेभलपर्सले ति व्यवसायीहरुबाट ३ अर्ब बढी रकम उठाएको देखिन्छ । डेभलपर्सहरुले व्यवसायीहरूलाई हरेक व्यावसायिक सटर कम्तीमा २५ लाख देखि ४० लाख रुपैयाँसम्म बिक्री गर्ने र त्यसको लालपुर्जा दिने भन्दै सम्झौता गराएका थिए । अधिकांशले सम्झौता अनुसारको रकम तिरिसकेका छन् । तर केहीले बाहेक हालसम्म लालपुर्जा पाउन सकेका छैनन् ।
यता मिलाल्याण्ड डेभलपर्स कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यसहितको टोली अहिले प्रहरी हिरासतमा छन् । बज्राचार्यसहितको टोलीले सञ्चालन गर्ने भनेको अर्को योजना कलंकी ट्रेड सेनटरमा ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुका कारण एनबीटीसीमा लगानी गरेका न्यूरोडका व्यवसायीहरुले पनि आफू ठगीमा परेको भन्दै जाहेरी दर्ता गराएका छन् ।
न्यूरोडको साँघुरो गल्लीबाट फराकिलो र सुविधासम्पन्न कम्प्लेक्समा सर्ने सपना देखेका व्यवसायीहरु कसरी ठगिन पुगे ? एनबीटिसी ब्यापार संघका अध्यक्ष होमनाथ गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः
न्यूरोडको जति पनि क्षेत्र छ त्यो साँघुरो भयो भनेर त्यतैका सबै साथीहरुको लगानी हो यो । हामीहरु उतै हुर्केर यता आएका हौँ । त्यो साँघुरो ठाउँ छोडेर नेपालमै नभएको एउटा राम्रो कम्प्लेक्समा जान पाइन्छ भनेर हामीले सपना देखेको हो । तर सपना देखेअनुसार भएन ।
२०६९÷७० सलतिरको कुरा हो यो बन्न थालेको । २०७४ सालमा यो हस्तान्तरण हुन्छ, तपाईँहरु सबैजना त्यहाँ जान पाउनुहुन्छ भनेर मिलाल्याण्ड डेभलपर्स प्रा.लि. सँग सम्झौता गरिएको थियो । तर त्यसअनुसार हुन नसक्नुमा केही जाहेज कारण पनि छन् केही नाजायज कारणहरु पनि छन् ।
यहाँ ९२९ ओटा पसल छन् । तर भनेको समयमा नपाउँदा ठगिएकै भन्नु पर्यो । ठगिनुपर्ने कारण के हो त्यसलाई हामी नियालेर जानुपर्छ । तर अर्कालाई औँलो उठाउन गार्हो पनि छ तर गल्ती भएको देखिन्छ । आवश्यक परेको अवस्थामा प्रमाणसहित पेश पनि गरिन्छ । सरर हेर्दा हामी ठगिएकै हो । म यस ब्यापार संघको अध्यक्ष भएको हैसियले पटक पटक हामीले घचघच्याईरहेका छौँ । हाम्रा साथीहरु हामीसँग जोडिनुभएको छ । हामी ६÷७ सय जना साथीहरु निरन्तर संवादमा छौँ । तर आफू ठगिएको निष्कर्षमा अहिले धेरै साथीहरु पुग्नुभएको छ । २/४ जना ठगिनुभएको छैन होला त्यो आफ्नो ठाउँमा छ ।
प्रकृति र मिसम्यानेजमेन्ट दुबैका कारण यस्तो भएको हो । ९० प्रतिशत साथीहरुले उत्तर या दक्षिणबाट सामान ल्याएर काम गर्ने हो । हाम्रो देशमा त केही पनि छैन । कोरोनाले गर्दा हामीलाई ठग्यो त्यो आफ्नो ठाउँमा छ, यो बिल्डिङको लालपुर्जा दिने सम्बन्धमा जुन हाम्रो चर्चा चलिरहेको छ त्यसमा ठगिनुको कारण डेभलपरको मिसम्यानेजमेण्ट र लापरवाही हो ।
उहाँहरुसँग के भयो किन यस्तो गरियो भन्ने प्रश्नको उत्तर छैन । उहाँहरुको आर्थिक कारोबारमा ब्यापार संघले हस्तक्षेप गर्न मिल्दैन । उहाँको अडिट रिपोर्ट हेर्न मिल्दैन । उहाँहरुको लगानी हामीले सोध्न मिल्दैन । यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । हामीले गर्ने भनेको अनुरोध मात्रै हो । उहाँहरुसँग हात जोड्ने मात्रै हो । तर हामी लगभग थाकीसकेका छौँ ।
उहाँहरुले पनि यसलाई सकारात्मक तरिकाले लिनुपर्ने हो । कमसेकम एनबीटीसी ब्यापार संघले हामीलाई घचघच्याईराख्या छ भनेर पोजेटिभ्ली लिनुपर्ने हो । लिनुभाछ होला जस्तो पनि मलाई लाग्छ तर राम्रो खेल उहाँहरुले खेलेको छु भनेपनि गोल भएको छैन । गोल नभएपछि खेल जति राम्रो भएपनि त्यसको केई अर्थ छैन ।
लोकेसन र साइजको आधारमा मूल्य निर्धारण भएको छ । हाराहारी हेर्दा एउटा सटरको लगभग २० देखि ४० लाख रुपैयाँको बिचमा छ । सुरुमा २ लाख रुपैयाँ बुकिङ थियो । १५ प्रतिशत एडभान्स थियो । त्यसपछि ८/८ प्रतिशतका दरले बुझाउनुपर्ने थियो ।
तीन सय ५० पसल खुल्या छ । भाडादर हामीले तोक्यौँ । १ सय ३० रुपैयाँ स्क्वाएर फिट देखि लिएर २ सय रुपैयाँ स्क्वाएर फिट सम्म मात्र लिन पाइने भनेर । लोकेसनको आधारमा भनेर तोकियो । ३३ हजार भाडा तोकिएकोमा ११ हजार दिए पाइने भनेर पारित गरियो । तर समय परिस्थितिले गर्दा अहिलेसम्म जम्मा ३ सय ५० ओटा पसल खुलेका छन् । ६५० खुल्न बाँकी छ । ७ सय बढी लालपुर्जा गर्न बाँकी छ । साथीहरुले लालपुर्जा पाएपछि बल्ल पसल खोल्न आउँछु भन्नुहुन्छ । साथै लालपुर्जाको वितरण नहुनाले यहाँ बसेका ब्यापारिहरु, यहाँ आउन चाहने ब्यापारीहरु र यहाँ भाडामा बसेका ब्यापारीहरु सबैलाई असर परेको छ । मनस्थिति अलिकति खस्किएको छ ।
उहाँहरुले अलिकति पैसा चाहीँ लगाउनुपर्ने ठाउँमा नलगाएर खन्तै लागाउनुभयो कि भन्ने शंका त गर्न सक्छु । प्रमाण ल्याउ भन्न त म गएको छैन । तर त्यस्तो भएको हो भन्ने मलाई शंका छ ।
उहाँहरुले हामीलाई कुनै प्रकारको समस्या छैन, तपाईँले भनेको बेलामा पाउनुहुन्च भन्नुभाकै हो । बीचमा भूकम्प र नाकावन्दी इत्यादी पनि बीचमा छोइएको हो । नबुझ्ने मान्छे हामी पनि होइनौँ । त्यसकारण अलिकति समय थप गर्नु एकदमै जाहेज हो । त्यसमा हामी उहाँहरुको समर्थन गछौँ । तर समर्थन गर्छौँ भन्दैमा अत्याचारमै हामीलाई पार्न नहुने हो । यसमा हाम्रो कडा बिरोध छ ।
अहिले हाम्रा पीडित साथीहरुको अवस्था निकै नाजुक छ । उता (न्यूरोड) तिर भाडामा बसेर काम गरिराखेको, बिभिन्न परिस्थितिले भाडा तिर्न नसकेको, एनबीटीसीमा भएको पसलको पैसा तिरिसकेको र थप सामान हाल्नको लागि यो लालपुर्जा पाएदेखि बैंकमा राखेर केही रकम पाएदेखि फेरि यताबाट सुरु गर्छु भन्नेहरुको संख्या धेरै छ । मैले व्यक्त गरेभन्दा उहाँहरुको समस्या धेरै जटिल छ । एनबीटीसी ब्यापार संघको अध्यक्ष भएको हैसियतले मैले के भन्न चाहेँ भने, पैसा तिरिसकेका मध्ये जसले पसल खोलेर बसेको उसलाई सबैभन्दा पहिला सुरु गर्नुस् ।
हाम्रो एनबीटीसी ब्यापार संघ ४ ओटा एजेण्डामा केन्द्रीत भएर काम गरिरहेको छ । हाम्रो २१ जनाको कार्यसमिति छ । बिल्डिङमै उपस्थित भएको मान्छे मात्र हाम्रो कार्यसमितिमा बस्नुहुन्छ । र ४ ओटा बुँदामा हामी हेर्ने गछौँ । जस्तै एक नम्बर बुँदामा ९ सय बढी पसलको लालपुर्जा वितरण हुनुपर्ने । एजेण्डा नम्बर २ मा ९ सय पसल नै सञ्चालनमा आउनुपर्ने । नम्बर ३ मा ९ सय पसलके भाडादर कम्पनीमार्फत या ब्यापार संघमार्फत या उपभोक्तामार्फत अहिले तय हुनुपर्ने । नम्बर ४ मा दैनिक कार्यमा कुनै प्रकारको झैझगडा पक्षपात तथा थिचोमिचो नहोस् भनेर ब्यापार संघले हेर्ने भन्ने यत्ति ४ कुरामा हामी आधारित छौँ । हाम्रो बिभिन्न पहलबाट, बिभिन्न झगडाबाट गरेर २ सय जति लालपुर्जा हाम्रा साथीहरुले पाइसक्नुभएको छ । ७ सय लालपुर्जा अझै बाँकी छ । र २ सय लालपुर्जा वितरण गरेको पनि २ वर्ष भईसक्यो । २ वर्षमा जम्मा २ सय पाइएको ५ भने अझै पाउन त हामीले अझै ६÷७ वर्ष कुर्नुपर्ने भयो । यो बिल्डङ बनाउँदा उठेको पैसा बाहेक बैंकबाट पनि लोन लिएर यो बिल्डिङ बनाएका हौँ भनेर सरहरुले भन्नुहुन्छ । यो कुरा जाहेज पनि हो । हामीले बैंकमा गएर सोधेका पनि थियौँ । यति यति रकम छ भनेर भनेर उहाँहरुले भन्नु पनि हुन्थ्यो ।
कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी
केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी