काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहुन्जेल आफूलाई सहकारीसँग जोडेर आरोप लगाउनेहरुले आफ्ना पार्टीका नेता मुछिएको प्रकरणमा पनि छानबिन गर्न आवाज उठाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्रीलाई लक्षित गर्दै स्काउट जग्गा प्रकरण, बालमन्दिर जग्गा प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण र नक्कली भुटानी प्रकरणमा पनि आवाज उठाउन चुनौती दिएका हुन् ।
‘हिजो यहि संसदमा सहकारीबन्धु भन्ने सांसद साथीह?ले अब सहकारी बन्धुको भाषा बन्द गरेको हामी हेर्न चाहादैनौँ । सहकारी बन्धु मात्र नभनुन्, स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु पनि भन्ने आँट गरून ।’, सभापति रवि लामिछानेले भने ।
त्यस्तै सभापति लामिछानेले आइतबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा बोलेको विषयको समेत प्रतिवाद गरेका छन् । आफूले अनुसन्धान गरेको विषयलाई पुरानै अनुसन्धान हो भन्दै महामन्त्रीले ढाकछोप गरेको भन्दै काण्ड पनि आफूहरुले नै गरेको हो भन्ने स्विकार गर्न शर्मालाई अनुरोध गरेका छ्न । ‘हिजो भर्खर यहाँ चल्यो, फाइल तपाईँहरुले खोलेको हैन, फाइल त हामीहरुले खोलेको हो तिमीहरुले केही पनि गरेका हैनौ भन्ने कुराहरु आए ।’, उनले थपे, ‘ठिक छ तपाईँहरुले नै खोल्नु भएको हो हामीलाई जस चाहिएको पनि हैन । काण्डहरु पनि हामीहरुले नै गरेको हो भन्दिएको भए हुन्थ्यो । ३० औँ वर्षमा यी सबै काण्डहरु पनि आफूहरुले नै गरेको हो भन्दिए हुन्थ्यो ।’