काठमाडाैँ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा नेपाली कांग्रेसले जिल्ला सभापति डम्बर खड्का र बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
बिहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्का र सिंहलाई सिफारिस गरेको हो ।
कांग्रेसले इलाम २ मा उम्मेदवार बनाउन लागेका खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय सुवास नेम्वाङसँग पराजीत भएका थिए । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतको गठबन्धनका साझा उम्मेदवार बनेका उनी नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
त्यस्तै बझाङमा उम्मेदवार बन्ने भएका सिंह नेपाली कांग्रेसका स्वर्गिय सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । नेपाली कांग्रेसले जिल्ला कार्यसमितिलाई उम्मेदवारको लागि ३ जनाको नाम सिफारिस गर्न भनेपनि समितिले १० जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्ये सिंहलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले जोडबल गरेपछि उनी चयन भएका हुन् ।