काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । आचार्यलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराती, बिभिन्न दलका नेता, शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व, सर्वसाधारणहरु नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेका थिए ।
स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले गीत संगीतको माध्यमबाट आचार्यले पुर्याएको योगदान अमर रहने बताए । उनले भक्तराज आचार्यको योगदानलाई राज्यले उच्च सम्मान गर्ने उल्लेख गरे । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । आचार्यले ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, हजार सपनाहरूको माया लागेर आउँछ’ लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै सक्रिय छन् ।