
काठमाडौँ । नेपाली कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका छन् ।
राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार भन्ने लक्ष्यका साथ मिसन रोजगारी अभियान सुरु गरिएको महामन्त्री थापाले जानकारी दिए । यस क्रममा बिषयगत र क्षेत्रगत रुपमा गोलमेच छलफल गर्ने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा सम्वाद गर्ने र अध्ययनका लागि निचोड निकालिने थापाले जानकारी दिए ।
त्यस्तै कांग्रेस महामन्त्री शर्माले कांग्रेस पार्टीले लिएको नीतिका कारण थोरै भएपनि देशमा रोजगारीको सिर्जना भएको दावी गरे । देशमा बनेको रोजगारीको जगलाई थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टिलाई समाधान गर्ने प्रयास स्वरुप रोजगारी अभियान सुरु गरिएको उनले बताए ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्था लगायतमा वर्षभरी नै छलफल बहस गर्दै सरकारको प्राथमिकतामा रोजगारलाई राख्ने अवस्था सिर्जना गर्ने कांग्रेसले जनाएको छ ।