![]( https://sidhakura.com/content/upload/post_image/hp-phadinr-and-indiapngzjuu2ccrr.png)
काठमाडौं । भारत सरकारले ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको एक्स (ट्वीटर) को एकाउन्ट हटाउन एक्स (ट्वीटर)लाई पत्रचार गरेको छ ।
लामो समयदेखि नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान चलाउँदै आएका दाहालको पोष्टले भारतको सूचना प्रविधि ऐन उल्लघंन गरेको भन्दै एक्समा भारतले पत्र पठाएको छ ।
एक्सले नेपाललाई लेखेको इमेलमा एकाउन्ट हटाउनु पर्ने कारणमा भारतले गरेको लिगल डिमाण्ड उल्लेख गरेको छ । उक्त इमेलमा भनिएको छ‘पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’,।
इमेलमा उनको एक्स एकाउन्टलाई अहिले भारतमा हेर्न नमिल्ने बनााइएको समेत जानकारी गराइएको छ । एक्सको इमेलपछि उनले लेखेका छन्, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’
साथै उनले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको भन्दै लेखेका छन्, ‘म मेरो सरकारलाई भन्न चाहन्छु , ममाथिको प्रहार देशविरुद्ध पनि हो ।’
नेपाली भूमि फिर्ताको माग गर्दै प्रदर्शन गर्दा उनी पटक पटक पक्राउ पर्दै आएका छन् भने अन्तराष्ट्रिय मञ्चहरुमा समेत उनले यो विषय उठान गर्दै आएका छन् । तर अहिलेसम्म उनको एक्स एकाउन्ट भने बन्द भएको छैन ।