उपस्थित महिला तथा सज्जनबृन्द ।
तपाईँहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसँग साक्षात्कार हुने यस्तो मौका मिलाएकोमा म आयोजक प्रबन्धक तथा संलग्न सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालको लागी अर्कै ठूलो मूल्य र महत्व छ । गौरवशाली इतिहास बोकेको उद्यम, इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै प्रतिष्ठा छ । हामी भोगीरहेका छौँ, हामी देखिरहेका छौँ । दुई तीन दशकयता आएर हाम्रो तराई क्षेत्र हाम्रो यो उर्वर क्षेत्र उजाड बन्दै गइरहेको छ । यहाँको पोखरी पानीको स्रोत ट्युवेल, कुवा, धारा र जलसयहरु कमजोर बन्दै सुख्खा खडेरी र मरुभूमीकरणतर्फ गइरहेको छ । यो गम्भिर चिन्ताको कुरा हो । मधेशको होनहार युवा जनशक्ति दिनहुँ विदेशतिर दगुरीरहेको छ । उचित रोजगारी, शीप, इलम र अवसर दिन नसक्दा गरिबीको बाध्यताका कारण हाम्रो जमिन, हाम्रो स्रोत र साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ र यो दुःखद कुरा हो । देश बनाउनु, देश बचाउनु निरन्तर आवश्यक छ । हामीमाथि आह्वान पनि छ । म भन्छु हामी हाम्रो पुर्खाको पौरख नभुलुम, यहीँ बसौँ, यहीँ हाम्रो जन्मभूमीका लागि मरिमेटुम । हाम्रो विकास, हाम्रो उत्थान र हाम्रो समस्याको निराकरण हामी आफैँबाट हुने हो । अरु आएर गरिदिने होइन । तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल, पहाड र तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर लस्किएको छ । यो अवस्थाको अन्त्य गर्नै परेको छ ।
यसका निम्ती अब सोच्ने बेला आयो । यसलाई झन्झन् बर्बादीतिर नलैजाउँ । यसकालागि सबैले सोचौँ, समिक्षा गरौँ । नेपालको यस्तो राम्रो प्रकृती, यतिका धेरै प्राकृतीक स्रोत साधन र हाम्रो क्षमता यी सबै कुरा हाम्रो आर्थिक उन्नतीमा लगाऔँ । आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता आफ्नै घरबार र आफ्नै गाउँ बस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नैपर्छ । यसमै हाम्रो देशको उन्नती, प्रगती, इज्जत र प्रतिष्ठा निर्भर हुन्छ ।
हामी भूगोल र भूबनोटमा बाँडीने होइन, हामी जातजाती, धर्म संस्कृतीमा खण्डीत हुने होइन । हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ, हामी सबैको भलाई यसैमा छ ।
आफ्ना आत्मिय अग्रजहरुलाई गुमाएको पिडादायीक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरे । तत्काल अप्ठ्यारो परिस्थीतिमा पनि देशको थप बरबादी नहोस् र हाम्रो प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।
२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जाल झेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । आफ्नो पुख्र्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेठ २९ गते आम सञ्चार माध्यममार्फत मैले भनेको थिएँ, म नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पु¥याउन चाहन्छु । अनी त्यतिबेलै मैले भनेको थिएँ, स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहदा देशमा विशम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितीबाट आम जनतामा आक्रोस उत्पन्न हुन्छ भन्ने त्यतिखेरको आँकलन हो । वितेका १५ वर्षपछि आज त्यो असन्तोस, चासो, चिन्ता आक्रोस सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेको राष्ट्रप्रेम, रष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु । त्यसै आशय अनुरुप मैले आफ्नो श्रपेच राष्ट्रलाई सुम्पिएको थिएँ । हामी देशमै छौँ, अज पनि देशमै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ, अहिले पनि देशको सर्वाङ्गीण उन्नती होस्, भेदभापरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना हो ।
(यो लेख पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार वीरगंजमा नेपाली कांग्रेसका पुराना नेता तथा नेवि संघका संस्थापककाे नेतृत्वमा आयाेजना गरिएकाे स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रममा गरेको सम्बोधनको पूर्ण पाठको सम्पादीत अंश हो । –सम्पादक)