काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मारवाडी सेवा समितिले हडपेको जग्गा हटाउन खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेको बताएका छन् । बुधबार काठमाडौँमा गौशालामा रहेको पशुपति गौशाला धर्मशालामा मारवाडी समितिको कार्यालय हटाई महानगरको बोर्ड राख्न पुगेको टोलीलाई नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै बालेनले आक्रोश पोखेका हुन् ।
बालेनले नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गरेको बताएका छन् । उनले लेखेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नामा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भने पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, ‘अनि कोषले महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई निःशुल्क खाना र औषधी उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्ला नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तौ समितिबाट पो रहेछ।’ । उनले देश कसले तचलाइरहेको छ भन्दै व्यङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन् ‘अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ।’
पशुपति धर्मशालामा काठमाडौँ महानगरको बोर्ड
मंगलबारमात्रै काठमाडौँ महानगरपालिका र पशूपति क्षेत्रविकास कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको थियो ।