काठमाडाैँ : दाङका सन्तोष सेन ठकुरी, देशमा रोजगारी अभावमा २०७७ सालमा केही काम पाइन्छ कि भन्ने आशमा भिजिट भिसामै भएपनि दुबई पुगे । दुबई पुर्याएर काममा लगाइदिने भन्दै बादल डाँगी नाम गरेका एक एजेन्टले उनलाई सक्सेस मेनपावरमार्फत दुबई पुर्याए र दुबईमा रहेको एजेन्टको नम्बर दिए । त्यसपछि उनी सम्पर्कविहीन बने ।
सन्तोषले दुबई पुगेपछि नेपालका एजेन्टले सम्पर्क गराएको निलदाइ भन्ने एजेन्टलाई सम्पर्क गरे । तर उनले आफू कार्यव्यस्तताले लिन आउन नसक्ने भन्दै अर्का एकजनालाई लिन पठाए । सन्तोष ३ दिनसम्म निलदाइको कोठामा बसेपछि निलदाइले समेत उनलाई आफूले काम लगाइदिन नसक्ने साथै आफूसँग अन्य साथीहरू समेत बस्ने भएका कारण उनलाई त्यहाँबाट जान लगाए ।
सोही समयमा निलदाइकै कोठामा आए दुबईमा नेपालीहरू ठगेर आफ्नो धन्दा चलाइरहेका अर्का मुख्य एजेन्ट, प्रमोद रेग्मी । उनी नेपालबाट भिजिट भिसामा दुबई आएका नेपालीलाई काममा लगाइदिने भन्दै लाखौँ पैसा कुम्ल्याएर फरार हुने गर्थे ।
उनै प्रमोदको निशानामा परे सन्तोष सेन ठकुरी पनि । प्रमोदले उनलाई काममा लगाइदिने भन्दै २ लाख ३५ हजार पैसा मागे । गाउँमा बल्लतल्ल ऋण गरेर दुबई पुगेका सन्तोषले काम पाउने आशमा नेपालमा पुनः पैसा खोजेर पठाउन परिवारलाई आग्रह गरे । सन्तोषकी श्रीमतीले प्रमोदले भनेअनुसार नै पैसा खोजेर प्रमोदकी श्रीमती रञ्जना काफ्लेको बैक खातामा जम्मा गरिदिइन् ।
‘प्रमोद रेग्मीले काममा लगाइदिन्छु भनेपछि मैले श्रीमतीलाई पैसा देउ भनेँ, श्रीमतीले दिदीसँग पैसा मागेपछि दिदीले भिनाजुले थाहा नपाई पैसा दिनुभएछ, पछि थाहा पाएपछि भिनाजुले समेत दिदीलाई पिट्नु भएछ’, उनले थपे, ‘त्यति दुख गरेर पैसा उनको श्रीमतीको नाममा श्रीमतीले हालिदिइन् । त्यसपछि उसले न काम दियो न बस्न, खान दियो ।’
प्रमोदले मागेको पैसा पठाइदिएपछि काम पाइन्छ भन्ने आशले पैसा दिएका सन्तोषले काम पाउनु त परको कुरा, खान र बस्नको समेट टुंगो पाएनन् । प्रमोद पनि सन्तोषदेखि सम्पर्कविहीन बने । त्यसपछि सुरु भयो, प्रमोदको अग्नि परीक्षा । उनी दुबईको सहरमा सडकको पेटीमा बास बस्न पुगे, अरुको जुठो भात मागेर खान बाध्य भए । तर पनि सन्तोषले काम पाएनन् ।
कामको खोजी गर्दागर्दै सन्तोषको भिजिट भिसाको अवधि नै सक्कियो । उनले अवैध रुपमा दुबई बसेको कसुरमा जरिवाना बुझाउन पर्ने भयो । परिवारले पुनः ऋण गरेर उनको जरिवाना तिरेर उनलाई नेपाल झिकाए ।
‘पैसा खाएर उ गायब भएपछि उसलाई हजार पटक सम्पर्क गर्दा पनि उ सम्पर्कमा आएन । प्रमोद रेग्मीले बसाउला मलाई, काममा लगाइदेला भन्ने ठानेँ । २/३ महिनासम्म उ सम्पर्कमा आएन, म आफन्त खोज्दै बसेँ । कहिले को सँग पैसा मागेर दिन गुजारेँ, कहिले को सँग ।’ दुखः सुनाउँदै उनी भन्छन्, ‘खान नपाएर मोबाइल बेचेँ, भएको सबै सामान बेचेँ । प्रमोद रेग्मीलाई खोज्नलाई गोजीमा पैसा थिएन, हिँड्दै धेरै ठाउँमा भौँतारिएँ ।’
सन्तोष नेपाल आइपुग्दासम्म उनलाई दुबई पठाउनका लागि परिवारले लाखौं ऋण लिइसकेका थिए । साहु दिनदिनै घरमै धाउन थालिसकेका थिए । त्यसपछि सन्तोष र उनकी श्रीमतीले रञ्जना काफ्लेलाई सम्पर्क गरे । तर रञ्जनाले प्रमोद र आफ्नो सम्बन्धविच्छेद भइसकेको र सम्बन्ध केही नभएको भन्दै उनीहरूलाई सम्पर्क नगर्न भनिन् ।
त्यसपछि न्यायको खोजीमा सन्तोष र उनकी श्रीमती इलाका प्रहरी कार्यालय घोराही पुगे । तर रञ्जनाको ठेगाना काठमाडौँ भएकाले घोराही प्रहरीले उनीहरूलाई काठमाडौँ पठायो । सोहीअनुरूप उनीहरूले काठमाडौँ आएर वैदेशिक रोजगार विभाग र प्रहरी परिसर टेकुमा निवेदन दिए । तर टेकु प्रहरीले पनि रञ्जनाको ठेगाना बालाजु रहेको भन्दै प्रहरी वृत्त बालाजु पठायो ।
आफूहरू ठगिएको भन्दै बालाजु प्रहरी गुहार्न पुगेका उनीहरूसँग प्रहरीले रञ्जनालाई झिकाएर छलफल गरायो । छलफलका क्रममा आफूहरूले पैसा लिएका कारण पैसा फिर्ता दिन समस्या नहुने बताएकी रञ्जनाले एकाएक श्रीमान प्रमोद रेग्मीलाई सम्पर्क गरिन र प्रहरीलाई फोन दिन भनिन् । त्यस समयमा प्रमोदसँग फोनमा संवाद गर्ने प्रहरी अधिकारी थिए आषिस अधिकारी । जब उनले प्रमोदसँग कुराकानी गरे । त्यसपछि पैसा दिनु त परको कुरा प्रहरीले नै उनीहरूलाई उल्टै झपारेर पठाए ।
आफूहरू ठगिएको र दलालहरूले आफूहरूको उठीबास लगाएको भन्दै प्रहरी गुहार्न पुगेका उनीहरूलाई प्रहरीले नै निराश बनाएर फर्काइदिएको छ । ठग दलालको त कामै हो गरिब सोझोलाई ठग्ने तर न्याय दिन बसेका प्रहरीनै दलालसँग मिलेकाले न्याय मरिसकेको उनीहरूको आरोप छ । यतिबेला उनीहरूलाई आफूहरूलाई ठग्ने ठग भन्दा उनीहरूको संरक्षणमा लागि परेको प्रहरीदेखि गुनासो छ ।
सन्तोषकी श्रीमती मेनुका भन्छिन्, ‘दलालीले खाएको पैसाको पीर छैन मलाई, दलालीको पैसानै अर्काको पैसा ठग्ने हो । त्यो त विदेशिएको मान्छेको कुरा । त्यो प्रहरीले त त्यसो गर्ने हैन नि १ प्रहरीले त हामीलाई न्याय दिलाउने हो नि, तर झन अन्याय गर्यो । मलाई त्यसप्रति चित्त दुखेको छ ।’