काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल, र जसपा अध्यक्ष उपेन्द्र यादवलाई न्यूनतम साझा कार्यक्रम बुझाएको हो ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सदस्य छन् । उनीहरुले तयार पारेकाे कार्यक्रममा आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान संविधानकाे रक्षा लगायत समावेश छन् ।