बाँके । राष्ट्रिय परीक्षा वोर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।
बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेका कार्यालय प्रमुख रामशुरेस यादवले जानकारी दिए ।
कार्यालय प्रमुख यादवका अनुसार नौबस्तास्थित बाल सुधारगृहका ६ जना बालबन्दी (बालबिज्याइँकर्ता), डुडुवास्थित जयेन्दु बाल सुधारगृहका २५ जना बालबन्दी र नेपालगन्ज कारागारका चार जना कैदीबन्दीले १२ कक्षाको परीक्षा दिन लागेका हुन् ।
नौबस्तास्थित बाल सुधारगृहका बालबन्दीलाई कोहलपुरस्थित ज्ञानज्योती मावि परीक्षा केन्द्र र जयेन्दु बाल सुधारगृहका बालबन्दी र नेपालगन्ज कारागारका कैदीबन्दीलाई नेपालगन्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।
आजबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षालाई शान्त तथा मर्यादित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरे। उनले उक्त कार्यमा आवश्यक सहकार्य, समन्वय एवम् सहजीकरण गर्न अनुरोधसमेत गरे ।
परीक्षामा मर्यादा विपरीतका कुनै गतिविधि नगर्न नगराउन र त्यसतो कार्य कतै भएको पाइएमा प्रशासनलाई जानकारी गराइ जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न सबैमा अनुरोधसमेत गरे ।